कथा: त्यो न्यानो स्पर्श र यो चिसो छिंडी

६ फाल्गुन २०७४
banner

कामना न्यौपाने

काठमाडौं। साँझको समय, कोही प्लास्टिकको झोलामा तरकारी बोकेर घर फर्किंदैछन् भने कोही तरकारी रोज्दैछन् । यही तरकारी र मानिसहरुको भींडमा छ एउटा आशा र निराशा मिश्रित अनुहार। 

उनी कहिले सानो बालकलाई काखमा च्यापिरहेकी देखिन्थिन् । तरकारी ठेलाका अरु साहुनीहरु कहिलेकाहीं उनको बारेमा खासखुस पनि गर्ने गर्थे। उनीसँग कुरा गर्ने मलाई हुटहुटी जागिरहेको थियो । र, एकदिन उनलाई आफ्नो मनको कुरा बताएर उनीसँग कुरागर्ने माहोल बनाएरै छोडें ।

विगतले बिना ढकाल (नाम परिवर्तन) लाई निराशा र दु:ख मात्र दियो। अहिले उनी तरकारीको ठेलामा आशा खोज्दैछिन्।  काखको डेढ वर्षको छोराको भविष्य सपार्ने सपना त ठेलाले के पो धान्ला र खै ? तर उनी तरकारी बेचेर नै भए पनि छोरा हुर्काउने कुरामा भने आशावादी छिन् । त्यही आशाले उनलाई बिहानै उठाउँछ, तरकारी बजारबाट तरकारी ल्याएर आफ्नो ठेलामा सजाउन लगाउँछ।

बिनाको परिवार दुई सन्तानको साथमा राम्रोसँग नै चलेको थियो। श्रीमान भारतमा थिए, राम्रै कमाई गरेका थिए । बिना र सन्तानहरुलाई पुग्नेगरि पैसा पठाउँथे। श्रीमान श्रीमतीको मोबाइल फोन मार्फत कुरा भैराख्थ्यो । हातमा भएको भारतीय कम्पनीको फोनमा गुन्जिने श्रीमानको आवाज उनलाई प्यारो त थियो, तर उनको शरीरले खोजेको स्पर्श उनीबाट टाढा थियो।

एक दिन उनको पांचवर्षे छोरा राती एक्कासी बिरामी भयो । अत्तालिएकी उनले छिमेकीलाई बोलाइन् । टाढाको अस्पताल राती पुर्याउन नसकिने, बिनाको छोराको भने ज्वरो बढिरह्यो। उनका छिमेकी जेठाजु छोरालाई कुरेर रातभर बिनाकै घरमा बसे। तीन चार दिनपछि छोरालाई निको भयो । यस घटनापछि छिमेकी जेठाजु बिनाको घरमा आइरहन थाले।

घरमा कुनै पुरुषले गर्ने रेखदेखको अभाव, शारीरिक स्पर्शको तिर्खाले दिन गुजारिरहेकी बिना र ती व्यक्तिबीच विस्तारै सामिप्यता बढ्न थाल्यो । उनीहरु शारीरिक सम्बन्धका लागि समेत प्रत्येक दिन भेट्न थाले। दिनहरु बित्दै गए। २-३ पटक त बिनाले गर्भ पनि फालिन्। तर जब अन्तिम पटक उनीहरुले गर्भ बसेको चाल पाए, त्यति बेलासम्म तीन महिना नाघिसकेको थियो। 
धेरै पटक गर्भ तुहाएको र अहिलेको गर्भ धेरै समय भइसकेको भन्दै डाक्टरले गर्भ तुहाईदिन मानेनन्। गाउँमा हल्ला भयो, भारतबाट बिनाका श्रीमान आए । कचहरी बस्यो र बिनालाई ती छिमेकी जेठाजुले श्रीमतीको रुपमा भित्र्याउनुपर्ने भयो, जसका पहिलेनै श्रीमती र तीन छोराछोरी थिए ।

त्यहींबाट बिनाका दु:खका दिन सुरु भए। ती व्यक्तिकी श्रीमतीले श्रीमानसंग केही दिन रिसाए पनि पछि पहिलेकै अवस्थामा आइन् र बिनालाई बूढाबूढी मिलेर अनेक दु:ख दिन थाले । गाउँको मान्य अगुवामा गनिएको उनको त्यो पछिल्लो श्रीमानलाई गाउँलेले केही दिन कुराकाटे पनि पछि हात जोड्न थाले। तर बिनालाई उनको मर्म, उनले के सोंचिरहेकी छिन्, उनको मुटुले कत्तिको पोलिरहेको छ, कसैले सोधेन। 

यत्तिकैमा उनले छोरालाई जन्म दिईन्। तर त्यो छोरालाई हेर्न आउने, ती सुत्केरीलाई स्याहार्ने कोही भएन। उता पहिलेको श्रीमानले अर्कोविवाह गरे र दुई छोरा-छोरी उनी देखि टाढा भए। पीरैपिरलाई बोकेर बाँचिरहेकी बिनालाई देखेर उनकी भाउजुलाई दया जाग्यो । उनकै सहयोगमा बिना काठमाडौं आइन् र भाउजुले नै खोजि दिएको डेरामा बसिरहेकी छिन् । 

तिलहरी औंठी बेचेर र भाउजुले थपिदिएको पैसाले केही भाँडा जोडिन्, तरकारी व्यापार थालिन्। आफ्नो कथा सुनाउँदै भक्कानिएकी उनले भनिन्, 'अब यही छोरो हुर्काउन छ। त्यो गाउँमा फर्केर पनि जान्न। मैले गल्ती गरें, थाहा छ मलाई, तर मैले जति गल्ती त त्यो मोराले पनि गरेको होइन र नानी ?'

ताजा भिडियो

गृहमन्त्रीको जवाफ चित्त नबुझेपछि प्रतिपक्षी सांसदले गरे संसद बैठक नै अबरुद्ध ।

बाँके घटनाका विषयमा सांसद र गृहमन्त्रीबीच सवाल जवाफ । Samsad Baithak |

फितलो ब्यवस्थापनले सन्नीलाई हलसम्म पुग्न सकस । Sunny Leone | Nepali Movie Passport |

ब्रिटिस मान्यताको डिग्री नेपालकै कलेजबाट (कलेज परिचयसहित) | ISMT College|