मूलै फुटेनन् यस वर्ष

१५ श्रावण २०७६
banner

फाइल फोटो

वासुदेव पौडेल
पाेखरा।  अत्यधिक बाढीले कतै बस्ती नै डुब्यो, कतै पहिरोले घर जग्गा बगायो, मानवीय धनजनको क्षति यस्तै यस्तै खबर यतिखेर समाचारका पाना, अनलाइन, रेडियो एवम् टेलिभिजनमा पढ्न, सुन्न र देख्न पाइन्छ। देशका  विभिन्न भूभाग बाढीपहिरोका कारण डुबानमा परिरहेका अस्थामा नेपालकै चेरापुञ्जी उपमा पाएको पोखरा आसपासमा भने कम पानीका कारण आधा साउन जाँदा पनि मूल नफुट्दा कृषक चिन्तामा छन्।

जेनतेन पानीका नहर र खोला किनारमा रोपाइँ भए पनि अन्य स्थानमा भने पानी नपरेकै कारण खेत बाँझै छन्। विशेषगरी अधिकांश टारी खेतमा त यतिखेर खडेरीको कारण रोपाइँ हुन सकेको छैन। 

पानी नपरेकै कारण पानी माग्दै तनहँुको शुक्लागण्डकी नगरपालिका–१ र २ का स्थानीयवासीले त साउनको पहिलो साता इन्द्र भगवान्को पूजा गरे। पूजा गरे पनि पानी नपरेपछि अहिलेसम्म पनि त्यहाँका शेराबेँसी, ज्यामिरकोटे र सुन्दरी गाउँका झण्डै दुई सय रोपनी खेत बाँझै छन्। उत्पादनका दृष्टिले यी स्थानका खेत अब्बल मानिने स्थानीयवासी ठाकुरप्रसाद खनालले बताए। ‘‘जग्गा अब्ब्ल भएर के गर्ने ? पानी नै नपरेपछि मूल फुट्न सकेन । जसले गर्दा रोपाइँ गर्न पाइएको छैन’’ उनले भने।

स्थानीयवासीले वैदिक विधिद्वारा हवन कर्मसहित इन्द्रको पूजा गरी पानी मागेका थिए। पानी नपरेकै कारण रोपाइँ हुन नसकेपछि इन्द्रको पूजा गरिएको यो घटना भने धेरै वर्ष पछिको हो। यसअघि खडेरी परेपछि यहाँका स्थानीयवासीले २०४४ साल वैशाखमा इन्द्रको पूजा गरेको शेराबेँसी टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद पन्थीले जानकारी दिए।

मूलहरू नफुटेको भन्दै साउनकै पहिलो साता भगवान् इन्द्रलाई खुशी पार्न कास्कीको पोखरा महानगरपालिका–३२ मालेपाटनमा पनि धुमधामका साथ भ्यागुताको विवाह गरिएको थियो। कृषकले धुमधाम साथ भ्यागुताको विवाह गराए। झण्डै दुई सयभन्दा बढी जन्ती, भोजभतेर, जग्गीयासहितको हवन सबै विधि पूरा गरियो। महिलाले रत्यौली खेले, पुरुष जन्ती बने भ्यागुताको बिहे सकियो। भ्यागुताको विवाह भए पनि पानी परेन, मूल फुटेनन्। असारको अन्त्यसम्म रोपी सकिने यहाँका अधिकांश खेत यस वर्ष बाझिने अवस्था आएको कृषकको गुनासो छ।

मूल फुट्नका लागि पर्याप्त पानी पर्नुपर्ने भए पनि पानी नपरेकै कारण समस्या भएको जल तथा मौसम विज्ञान कार्यालय, पोखराका मौसम विज्ञान सहायक सरोज अधिकारीले बताए। पछिल्ला वर्षमा पोखरा र आसपासका क्षेत्रमा बर्सेनी पानी पर्ने क्रम घट्दो क्रममा रहेको तथ्याङ्कले देखाउँछ। 

बर्खायामको समय विशेषगरी जुन, जुलाई र अगस्त हो । पोखरामा सन् २०१४ को जुन, जुलाई र अगस्तमा क्रमशः २८७.८, ८००.४ र १४२१.७ मिलिलिटर पानी परेको थियो भने २०१५ मा क्रमशः ५०६.९, ९२३.० र ७८१.८ मिलिलिटर परेको थियो । सन् २०१६ मा क्रमशः ५८९.०, ८७७.५ र ३८१.६ पर्यो भने २०१७ मा क्रमशः ४८२.६, १०७१.० र ६२०.५ मिलिलिटर पर्यो।

त्यस्तै सन् २०१८ मा क्रमशः ३६५.८, ६३९.८ र ६००.४ मिलि पानी प¥यो भने यस वर्षको जुनमा ६०८.३ र जुलाईमा ५४५ मिलि पानी परेको छ । केही वर्षयताको तथ्याङ्कले अधिकांश पानी पर्ने मात्रा बर्सेनी कम हुँदै गएको छ भने केही महिनामा भने उतारचढाव देखिएको छ।

गण्डकी प्रदेशमा कूल एक लाख ४९ हजार ७२५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको गण्डकी प्रदेश कृषि निर्देशनालयका वरिष्ठ कृषि अर्थविज्ञ भानुभक्त भट्टराईले जानकारी दिए। खोला किनारका स्थानमा कृषकले जेनतेन रोपे पनि धेरैजसो टारी खेतमा भने मूल नफुटेका कारण रोपाइँ हुन नसकेको उनले बताए। 

कास्कीको अन्नपूर्ण, मादी, रुपा, माछापुच्छ्रे गाउँपालिकाका साथै पोखरा महानगरपालिकाका पहाडी भूभागमा मूल नफुटेकै कारण रोपाइँ हुन नसकेको उनले जानकारी दिए। गण्डकीका ११ जिल्लामध्ये हिमाली जिल्ला मनाङ र मुस्ताङमा खासै रोपाइँ गरेको पाइँदैन। समग्र प्रदेशको तथ्याङ्कअनुसार यहाँका झण्डै २० प्रतिशत भूभागमा अहिलेसम्म पनि रोपाइँ भएको छैन। रासस

ताजा भिडियो

निर्वाचन आयोगसँग किन रिसायो कांग्रेस !!! | Nepali Congress | Press Meet

भारतले नेपाली भूमी मिचेकै हो : प्रचण्ड | Puspa Kamal Dahal | Kalapani |

शिक्षा मन्त्रीको चेतावनी : सरकारको निर्णय नमान्ने मेडिकल कलेजलाई कारवाही गर्ने ||

चक्रपथ विस्तार : जोखिमपूर्ण रुख कटान