रत्नाकर डाँकु हुने मन छ [कविता]

३ श्रावण २०७६
banner

आफ्नो पहिचान र नामको साङ्ला फुकालेर
जेलरलाइ खुच्चिङ भन्दै  खिज्याएर
भाग्ने मन छ मेरो हतकडि समयलाइ भिराएर
नाटकको पर्दा पछाडि नेपथ्यबाट ।

कति खेल्नु सधै हार मात्र हात लाग्ने फेयर गेमहरु
कहिलेकाहिं त थोरै झेली गरेरै भएपनि जित्ने मन छ 
चिट्ठा परेन भनेर कति सराप्नु भाग्यलाइ बारबार
एकचोटि सुटुक्क चिट्ठा थुतेर राख्ने मन छ
कति बन्नु सधै युधिस्ठिर र भिष्म यो झुठको चक्रव्यूहमा
एकचोटि तासका खालबाट पहिल्यै एक्का र बास्सा चोरेर राख्ने मन छ 
कति हेर्नू सत्यको खोल ओडेका कृष्णका छलजामहरु
एकचोटि थोरै शकुनि र हठी दुर्योधन हुन मन लागेको छ

जस्तो लाग्दो हो
नपुंसक कि पतिव्रतालाई
एक चोटि छल गरि कोख भर्ने रहर
जस्तो लाग्दो हो एक वेश्यालाई 
आफ्नो नाम फेरि घर बसाउने रहर
जस्तो  लाग्दो हो माग्नेलाई 
निदाएर ब्यूँझिदा अमिर बन्ने रहर
जस्तो लाग्दो हो भोट हाल्ने जनतालाई 
नेता बन्ने रहर
जस्तो लाग्दो हो एक राजकुमारीलाई
सडकपेटिमा पुगेर पानिपुरि खाने रहर ।

एकछिन बेखबर भएर बरालिने मन छ 
ता कि कसैले कुनै नामले नबोलाओस
कसैले कुनै घरले नचिनोस 
कसैले कुनै थरले नचिनोस
केवल मानव सम्झेर मुस्कुराओस
एकछिन पागल नै सही
एकछिन चोर नै सही
एकछिन जाली नै सही
एकछिन धूर्त नै सही
एकछिन निर्लज्ज नै सही
जिन्दगिको धेरै करिब पुगेर
नाङ्गो जिन्दगीलाई खुलेआम चुम्बन गर्ने मन छ ।

भोटेको घरमा बास बसेको पण्डितले
 तुङवा तानेर मात्तिए जस्तै
शिबरात्रिमा शिव-भक्तले भाङ तानेर बौलाए जस्तै
अर्धचेतन दानवलाइ थोरै जिस्काएर
अतिरञ्जित संस्कृतिलाइ थोरै मिल्काएर
मीठो स्वाद लिनु छ जिउनुको
खोतल्नु छ भूगर्भका 
पुरिएका रहस्य
छोडिएका रहस्य
तोडिएका रहस्य
लुकाइएका रहस्य
छुटाइका रहस्य
ढाँटिएका रहस्य
अनि बङ्गाइएका रहस्य
अनि छताछुल्ल र उदाङग पार्ने मन छ
अर्धज्ञानि पण्डितहरुले बनाएका पक्षपाति नियमहरु ।

सर्कसको लाटो दर्शक बनेर
कति तालि बजाइरहनु आँ.. गरेर
एकछिन चटकेलाई  उसकै डिब्बामा थुनेर
सर्कस मालिक हुने मन छ 
एकछिन जन्म मिति र तिथि बिर्सने मन छ
हातका धर्साहरु मेटेर बिना भाग्य बाँच्ने मन छ
ज्योतिषीका जोड-घटाउका उल्टा शुत्रहरु बिर्सेर
आफ्नो भाग्यको एल्केमिस्ट आफै बनेर 
नयाँ भाग्य लेख्नु छ ।

कति परिभाषित हुनु शास्त्रहरुमा
एकचोटि व्यास बनेर नविन शास्त्र लेख्ने मन छ
धेरै पढियो थेसिस र मेटाथेसिसहरु
एकचोटि सबको एन्टिथेसिस लेख्ने मन छ
उत्तर खोज्नु छ श्रीरामको राम-राज्यमा 
किन दिनुपर्यो सीताले अग्नि परीक्षा?
प्रश्न गर्नु छ पाण्डवहरुको सभामा
किन गर्नु पर्यो पाञ्चालीको चीरहरण?
किन गरियो जनक र द्रुपदको स्वम्बर- सभामा
रावण र कर्ण माथि अन्याय र छल?

कति बनिरहनु बत्ति मुनिको अँध्यारो
बरु उज्यालो बनेर बत्तिलाई निल्ने मन छ
कति काटिईरहनु अचानो बनेर फलामको प्रहारमा
एकछिन हिरा बनेर फलामलाइ नै काट्ने मन छ
एक त्यान्द्रो रौं मा झुन्डिएको तरबार मुनि गद्दिमा बसेर
कसरि गर्न सक्दो हो राजा मुस्कुराएको नाटक हो 
कति मन लाग्दो हो उसलाई श्रीपेचको भारि फ्याँकेर
सडकमा बेफिक्रि घुम्ने रहर ।

म कुन नामको
म कुन जातको
म कुन कुलको
म कुन लिङ्गको
म कुन धर्मको
म कुन बर्गको
सबै सबै बिर्सिएर
एकछिन यो चेत मस्तिस्कलाई
एनेस्थियाले लठ्ठाएर
यो मनलाई पाइलटको सिटमा राखेर
उड्ने मन छ असिमित स्वतन्त्र आकासमा
सारा संगितहरु बन्द गरेर मनको धुनमा नाच्ने मन छ
जसरी नाच्छन हिप्पीहरु नसाको चुरमा बेसुर भएर
मानौ यो अन्तिम रात हो भोलि संसार ध्वस्त हुँदै छ
कति हेर्ने यो छद्मवेशी संसारलाई बुद्धका आँखाले मात्र
एकछिन मलाई अंगुलिमाला बन्न मन लागेको छ
कति बुझ्ने संसारलाई वाल्मीकिको नजरले मात्रै
एकछिन मलाई रत्नाकर डाँकु बन्न मन लागेको छ ।

राधिका `कल्पित´
काठमाण्डौ ।

ताजा भिडियो

गृहमन्त्रीको जवाफ चित्त नबुझेपछि प्रतिपक्षी सांसदले गरे संसद बैठक नै अबरुद्ध ।

बाँके घटनाका विषयमा सांसद र गृहमन्त्रीबीच सवाल जवाफ । Samsad Baithak |

फितलो ब्यवस्थापनले सन्नीलाई हलसम्म पुग्न सकस । Sunny Leone | Nepali Movie Passport |

ब्रिटिस मान्यताको डिग्री नेपालकै कलेजबाट (कलेज परिचयसहित) | ISMT College|