लेखक देवेन्द्र न्यौपानेको चेतनामूलक उपन्यास ‘सङ्गत’ विमोचन

१० अषाढ २०७६

काठमाडौँ । उपन्यासकार तथा लेखक देवेन्द्र न्यौपानेको चेतनामूलक उपन्यास ‘सङ्गत’ विमोचन गरिएको छ। नेपाल प्रहरीको लागुऔषध ब्यूरोद्वारा अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध दिवसको पूर्वसन्ध्यामा सोमबार यहाँ आयोजित कार्यक्रममा लेखक न्यौपानेको उक्त उपन्यास विमोचन गरिएको हो।
 
उपन्यास महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री र लागुऔषध ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक दिनेश अमात्यले संयुक्तरूपमा विमोचन गरे। 

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक क्षेत्रीले काठमाडौँ उपत्यकामा प्राकृतिक लागुऔषधभन्दा औषधिजन्य लागुऔषधको समस्या बढ्दै गएको बताए । “लागुऔषधको दुरुपयोग नियन्त्रणका लागि प्रहरीका साथसाथै स्थानीय समुदायको पनि महत्वपूर्ण भूमिका रहेको छ”, उनले भने।

प्रहरी नायब महानिरीक्षक अमात्यले कुलतमा लागेका व्यक्तिले मात्र नभएर घरपरिवार र समाजले समेत निकै ठूलो मूल्य चुकाउनुपरेको बताए। एउटा किशोरले कुलतबाट छुटकारा पाउन गरेको अठोट, त्यसका लागि उसले चालेको कदम र यसबाट उसको जीवनमा आएको परिवर्तनलाई समेटेर उपन्यास लेखिएको उपन्यासकार न्यौपानेले बताए।
  
नेपालमा हाल एक लाख ५० हजार बढी युवा कुलतमा फसेको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। नेपालमा वार्षिक १२ प्रतिशतको गतिमा लागुऔषध प्रयोगकर्ता बढ्दै गएको भन्दै यसलाई नियन्त्रण गर्न गृह मन्त्रालयले हरेक वर्ष सप्ताहव्यापी कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। 

हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले लागुऔषध दुरुपयोग रोक्नका लागि विशेष योगदान पुर्याएका छन्। सोही अवसरमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारलाई समेटेर बनाइएको सडक नाटक, नृत्य र ब्याण्डसमेत प्रस्तुत गरिएको थियो।

ताजा भिडियो

गृहमन्त्रीको जवाफ चित्त नबुझेपछि प्रतिपक्षी सांसदले गरे संसद बैठक नै अबरुद्ध ।

बाँके घटनाका विषयमा सांसद र गृहमन्त्रीबीच सवाल जवाफ । Samsad Baithak |

फितलो ब्यवस्थापनले सन्नीलाई हलसम्म पुग्न सकस । Sunny Leone | Nepali Movie Passport |

ब्रिटिस मान्यताको डिग्री नेपालकै कलेजबाट (कलेज परिचयसहित) | ISMT College|